आज मैले यो विषय किन उठाउन चाहेको हो भने यतिबेला नेपालमा साइवर सेना मार्फत कसैलाई सामाजिक सञ्जालमा अतिरन्जित प्रसंसा मिनेटभित्रै गर्ने र कसैलाई मिनेटभित्रै अत्यन्तै निन्दनीय गालीगलौच गर्ने प्रवृत्तिको विकास भैरहेको पाइन्छ। वास्तममा यस्तो कसरी गरिन्छ भन्ने कुरा उल्लेख गर्न खोजिगरेको छु। जस्तो सरकारले खासै उल्लेखनीय काम गरेको हुँदैन तर सामाजिक सञ्जालमा यसरी प्रसंग गरिएको हुन्छ कि सुन्दा आश्चर्यजनक हुन्छ। कतिपय नियमित प्रक्रियाबाट चल्दै आएका चाहे स्वास्थ्य बीमा होस्, चाहे बृद्ध भत्ता होस्, या आदिइत्यादि जेसुकै होस् प्रसंसाको बाढी नै आउँछ। जुन कुरा नियमित प्रक्रियाबाट आइरहेका हुन्। खासै त्यस्तो उल्लेखनीय परिवर्तन भएको पाइदैन। किन यस्तो हुन्छ त?
आज सूचना र प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल (सोसल मिडिया) आज विचार आदानप्रदान, सूचना प्रवाह र जनमत निर्माणको महत्वपूर्ण माध्यम बनेको छ। तर यही डिजिटल संसारमा एउटा नयाँ प्रवृत्ति पनि बढ्दै गएको छ, जसलाई सामान्य भाषामा साइवर सेना (साइबर आर्मी) भनिन्छ। कुनै निश्चित व्यक्ति, संस्था, राजनीतिक दल वा विचारधाराको पक्ष वा विपक्षमा योजनाबद्ध रूपमा सक्रिय हुने यस्ता समूहहरूले सामाजिक सञ्जालको वातावरणलाई निकै प्रभावित पारिरहेका छन्।
साइवर सेना आफैंमा सधैं नकारात्मक पक्षसँग मात्र जोडिएको विषय होइन। कुनै विचार, नीति, नेतृत्व वा संस्थाको सकारात्मक पक्षलाई प्रस्तुत गर्नु, गलत सूचनाको खण्डन गर्नु र आफ्ना समर्थकहरूलाई संगठित गर्नु लोकतान्त्रिक अभ्यासकै एउटा हिस्सा हुन सक्छ। तर समस्या त्यतिबेला सुरु हुन्छ, जब यस्ता समूहहरू सत्य र तर्कभन्दा बाहिर गएर गालीगलौज, चरित्र हत्या, भ्रमपूर्ण सूचना र व्यक्तिगत आक्रमणको माध्यम बन्छन्।
आज सामाजिक सञ्जालमा फरक विचार राख्ने व्यक्तिमाथि योजनाबद्ध रूपमा आक्रमण गर्ने, अपमानजनक टिप्पणी गर्ने र समाजमा उसको छवि बिगार्ने प्रयासहरू बढिरहेका छन्। यस्तो व्यवहारले केवल एउटा व्यक्तिलाई मात्र असर गर्दैन, यसले समग्र समाजको संवाद संस्कृतिमाथि नै प्रश्न उठाउँछ।
साइवर सेनाको सबैभन्दा गम्भीर प्रभाव मानिसको मानसिक स्वास्थ्यमा पर्न सक्छ। लगातार आउने नकारात्मक टिप्पणी, धम्की, अपमान र सामाजिक बहिष्कारको अनुभवले व्यक्तिमा तनाव, चिन्ता र मानसिक दबाब सिर्जना गर्न सक्छ। कतिपय अवस्थामा यसले व्यक्तिलाई सार्वजनिक रूपमा आफ्नो विचार राख्नसमेत डराउने अवस्था ल्याउँछ। जब मानिसहरू आलोचना वा आक्रमणको डरले आफ्नो विचार व्यक्त गर्न हिच्किचाउँछन्, त्यतिबेला अभिव्यक्ति स्वतन्त्रताको वास्तविक अभ्यास कमजोर हुन पुग्छ।
यससँगै साइवर सेनाले भिडको मानसिकता (मब मेन्टालिटी) लाई पनि बढावा दिन सक्छ। धेरै मानिसहरू कुनै विषयको वास्तविकता बुझ्नुभन्दा पहिले नै सामाजिक सञ्जालमा देखिएको भीडको पछि लाग्ने गर्छन्। कुनै व्यक्तिको विचार, तर्क वा प्रमाणको मूल्याङ्कन नगरी केवल समूहको दबाबमा प्रतिक्रिया दिने प्रवृत्तिले स्वस्थ बहसको संस्कृतिलाई कमजोर बनाउँछ।
अर्को महत्वपूर्ण समस्या गलत सूचना (मिसइन्फर्मेसन) र योजनाबद्ध भ्रम फैलाउने गतिविधि हो। सामाजिक सञ्जालमा एउटा झुटो सूचना केही मिनेटमै हजारौं मानिससम्म पुग्न सक्छ। जब त्यस्ता सामग्रीहरू संगठित रूपमा फैलाइन्छन्, त्यसले समाजमा अविश्वास, विभाजन र द्वेषको वातावरण सिर्जना गर्न सक्छ। विशेषगरी राजनीतिक, सामाजिक वा साम्प्रदायिक विषयमा यस्तो गतिविधि झन् संवेदनशील बन्न पुग्छ।

नेपालको कानुनी व्यवस्थाले पनि डिजिटल माध्यमबाट हुने यस्ता गलत गतिविधिलाई नियन्त्रण गर्ने प्रयास गरेको छ। विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कम्प्युटर वा इन्टरनेटको माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्याउने, घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गर्ने कार्यलाई कानुनी कसुर मानिएको छ। यस्ता गतिविधिमा जरिवाना तथा कैदको व्यवस्था गरिएको छ।
त्यसैगरी मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत गाली, बेइज्जती र चरित्र हत्यासम्बन्धी कार्यहरू पनि कानुनी दायरामा पर्छन्। डिजिटल माध्यमबाट कसैको व्यक्तिगत प्रतिष्ठामा क्षति पुर्याउने कार्यमा पीडितले कानुनी उपचार खोज्न सक्छन्। सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले विभिन्न समयमा डिजिटल प्लेटफर्म व्यवस्थापनसम्बन्धी नियम र निर्देशिकाहरू पनि ल्याउँदै आएको छ।
यद्यपि डिजिटल क्षेत्रमा हुने सबै आलोचना वा असहमति गैरकानुनी हुँदैनन्। लोकतन्त्रमा आलोचना गर्ने अधिकार प्रत्येक नागरिकसँग हुन्छ। तर आलोचना र आक्रमणबीचको अन्तर बुझ्न आवश्यक छ। तथ्यमा आधारित असहमति लोकतान्त्रिक अभ्यास हो भने झुट, अपमान र व्यक्तिगत आक्रमण समाजका लागि हानिकारक प्रवृत्ति हो।
साइवर सेनाबाट हुने नकारात्मक प्रभावबाट बच्न प्रयोगकर्ताहरू पनि सचेत हुन आवश्यक छ। उत्तेजित पार्ने उद्देश्यले गरिएका टिप्पणीमा अनावश्यक प्रतिक्रिया नदिनु, त्यस्ता खाताहरूलाई अवरुद्ध (ब्लक) र उजुरी (रिपोर्ट) गर्नु, प्रमाणका रूपमा स्क्रिनसट सुरक्षित राख्नु र आवश्यक परे साइबर ब्युरोमा उजुरी गर्नु प्रभावकारी उपाय हुन सक्छ।
अन्ततः प्रविधि आफैं राम्रो वा खराब हुँदैन, यसको प्रयोग गर्ने तरिकाले त्यसको प्रभाव निर्धारण गर्छ। सामाजिक सञ्जाललाई विचारको स्वस्थ आदानप्रदान, ज्ञान विस्तार र सकारात्मक परिवर्तनको माध्यम बनाउने कि विभाजन, घृणा र भ्रम फैलाउने हतियार बनाउने भन्ने जिम्मेवारी प्रयोगकर्ताकै हातमा हुन्छ।
साइवर सेना डिजिटल युगको एउटा वास्तविकता हो। यसलाई केवल समर्थन वा विरोधको दृष्टिले मात्र होइन, समाज, लोकतन्त्र र डिजिटल संस्कृतिमा पार्ने प्रभावका आधारमा बुझ्न आवश्यक छ। सभ्य संवाद, तथ्यमा आधारित बहस र कानुनी जिम्मेवारीबोध नै सुरक्षित डिजिटल समाज निर्माण गर्ने आधार हुन्।